एमाले खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

एमाले खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै
Spread the love

काठमाडौँ, साउन २१ (ई-रैवार)

नेकपा एमालेको  खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने भएको हो ।

खनाल-नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् । दुई-तीन दिनभित्र आफूहरूले अन्तिम निर्णय लिने भन्दै नेता नेपाल पक्षले व्यक्तिगत रूपमा सरकारमा आउनेलाई नसमेट्न सुझावसमेत दिएका थिए ।

नेता नेपाल पक्षको प्रतीक्षा गर्दा मन्त्रिपरिषद् बिस्तार हुन नसकेको सत्ता गठबन्धनका नेताहरूले बताउँदै आएका छन् । नेपालले मङ्गलवार आफ्नो पार्टीमा एकताको प्रयास भइरहेको र त्यसको नतिजा नआउन्जेल मन्त्रिपरिषद् बिस्तार नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएका खनाल-नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।

नेता नेपालले अध्यक्ष के पी ओलीले पदबाट राजीनामा दिनु पर्ने या आफूले पनि उनी सरह हैसियत पाउनु पर्ने, संसद् विघटनलगायत राजनीतिक मुद्दामा ओलीले माफी माग्नु पर्नेलगायत अडान लिएका छन् ।

यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न खनाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने  छ ।

खनाल-नेपाल समूह सरकारमा सहभागी भए खनाल-नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६/६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ ।