राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेल र सदस्यहरुद्वारा सपथ

Spread the love

काठमाडौँ, साउन १४ (ई-रैवार)

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि नवनियुक्त उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । त मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो ।

सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र लिम्बुले आजै पदभार पनि ग्रहण गरेका छन् । राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।

शपथ समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव शिशिर ढुंगाना, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल र धनराज ज्ञवाली, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीलगायत उपस्थित थिए ।