प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने तयारी

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने तयारी
Spread the love

काठमाडौँ, साउन १४ (ई-रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै एक घण्टा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको हो ।

प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकअघि देउवा-प्रचण्डसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको हो ।

छलफलमा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनर्मोर्चा सरकारमा सहभागी नहुने भएपछि जसपासहित कसले कति मन्त्रालय लिएर मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

यो छलफल लगत्तै गठबन्धनमा आवद्ध अरू दलका शीर्ष नेताहरुबीच पनि संयुक्त छलफल गरी आजै मन्त्रालय बाडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रम टुंग्याएर शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ ।

भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार प्रस्थान गरेका छन् । बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।

हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् । सरकार गठन भएको दुई साता हुँदा पनि गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । अब जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।