काठमाडौँ, साउन १२ (ई–रैवार)
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ ।
बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि निर्धारण गरिएको छ ।
बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा रहेको नेता डा।प्रकाशशरण महतले जानकारी दिए । सदस्यता छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर क्रियाशीलता सदस्यता विवादलाई लिएर पार्टी कार्यालयमा जारी धर्ना र अनसनरत नेता कार्यकर्ताको माग सम्बोधनको तयारी पनि भएको महतले जानकारी दिएका छन् ।
त्यसअघि साउन १२ गतेदेखि गाउँ र नगरका वडा तहको अधिवेशन गर्ने भनिए पनि हाललाई यो कार्यतालिका स्थगित गरिएको छ । आजको बैठकमा नयाँ कार्यतालिका बारेसमेत छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए । यद्यपि, केन्द्रीय अधिवेशन भने निर्धारित मितिमै गर्ने कांग्रेसले बताएको छ ।


