जसपा अध्यक्ष यादवको पक्षमा ३४ सदस्यले गरे सनाखत, छिट्टै देउवा सरकारमा सहभागी हुन्छौँ : यादव

Spread the love

काठमाडौं,  साउन ११ (ई–रैवार)

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टी छिट्टै सरकारमा सहभागी हुने बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टी सहभागी हुने बताएका हुन् ।

अध्यक्ष यादवले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने बताए । उनले आफूहरूले महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई नलखेटेको भन्दै माफी मागेर आए पार्टीमा ठाउँ दिने बताएका छन्।

निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकताका लागि अध्यक्ष यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले हस्ताक्षर सनाखत गरेका छन्। ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष यादवले जानकारी दिए।

यादवका अनुसार सनाखतका लागि सांसद रेशम चौधरीलाई पनि आयोगमा ल्याउने तयारी गरिएको छ। डिल्लीबजारस्थित कारागारमा रहेका चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए। चौधरी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने यादवले दाबी गरेका छन्।

यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन, नवलकिशोर साह, राजकिशोर यादवलगायत नेताहरू यादव पक्षमा आएका छन्।

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो । सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन आयोगमा उपस्थित भएर सनाखत गर्न भनेको थियो । पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण आयोगले आज ‘हेड काउन्ट’मार्फत गरिरहेको हो ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष हेड काउन्ट रोक्न माग गर्दै सर्वोच्च गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएन, तर अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल गर्न १५ गते दुबै पक्षलाई बोलाएको छ ।