काठमाडौं, साउन ९ (ई–रैवार)
नेपालमा आज थप ३,११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा २,१९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल कोरोना संक्रमित मध्ये ७ लाख ४१ हजार ५६५ जना संक्रमणमुक्त भइसकेका छन् ।अहिलेसम्म ९४.५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६९५ जनाको मृत्यु भैसकेको छ । नेपालमा कोरोना मृत्यु दर १.५ प्रतिशत रहेको छ ।


