सभामुखलाई भेटेर एमाले उपाध्यक्ष रावलले लिए राजीनामा फिर्ता

Spread the love

काठमाडौं, साउन ८ (ई–रैवार)

नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले आज बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।

एमाले उपाध्यक्ष डा. रावलले सभाामुख सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले साउन ३ गते सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए । रावलले राजीनामा बारेको जानकारी सभामुखलाई समेत जानकारी गराइसकेका थिए ।

तर राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यसबारे आग्रह गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु भन्दा अगाडि राजीनामा दिएका हुन् । पार्टी एकताको लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।