प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

Spread the love

काठमाडौं, साउन ६ (ई–रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बुधबार विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएका हुन् ।

प्रधानमन्त्री देउवा र ठाकुरबीच आज बिहान करिब एक घण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको स्रोतले बताएको छ ।

विश्वासको मत प्राप्त गरेकोमा बधाई दिन र आफ्ना मागको सम्बोधनमा ध्यानाकर्षण गराउन ठाकुर बालुवाटार गएको उनका सहयोगी सतेन्द्र मिश्रले जानकारी दिए ।

अध्यक्ष ठाकुरले आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ । मिश्रका अुसार ठाकुरले आज विहान भेटेरै यसबारे कुरा उठाएका हुन ।

जसपाको ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसंख्याको अनुपातमा पुनस्संरचनालगायतका समस्या समाधानमा विषय उठाइरहेका छन् ।

यसको सम्बोधनका लागि प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको ठाकुर पक्षको भनाइ छ । गएको आइतबार प्रतिनिधिसभामा भएको विश्वासको मतदानमा महन्थ ठाकुर पक्ष सांसदले प्रधानमन्त्री देउवाको पक्षमा मत हालेका थिए ।

ठाकुर पक्षको हिजो बसेको केन्द्रीय कार्यकारिणी बैठकले पनि आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।