पोखरा, वैशाख २९ (ई-रैवार)
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत दाबीसहित पत्र दर्ता गराएका छन् । आज विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेपालीले प्रदेश प्रमुखको कार्यालयमा बहुमत दाबीसहित पत्र दर्ता गराएका हुन् ।
प्रदेश प्रमुख सीता पौडेललाई बुधबार पत्र लेखी पोखरेलले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न माग गरेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।
सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एकजनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि जनमोर्चाका तीनमध्ये दुईजनाको हस्ताक्षर राखेर पत्र बुझाइएको छ ।



