ओलीको रणनीति पर्खिँदै नेपाल समूह, ६ मन्त्रालय लिएर सरकारमा जाने तयारी

ओलीको रणनीति पर्खिँदै नेपाल समूह, ६ मन्त्रालय लिएर सरकारमा जाने तयारी
Spread the love

काठमाडौं, साउन ६ (ई–रैवार)

नेकपा एमालेको माधव नेपाल समूह अध्यक्ष केपी शर्मा ओलीसँग ‘पर्ख र हेर’को रणनीतिमा देखिएको छ ।

विगतका गल्तीप्रति पश्चाताप गर्नुको साटो पेलेर जाने रणनीतिमा देखिएको भन्दै नेपाल पक्षले ओलीले केही दिनभित्रै आफूलाई नसच्याए सरकारमा सहभागी हुने तयारी गरेको एक नेताले जानकारी दिए ।

“ओलीकै कारण पार्टी करिब दुइतिहाई बहुमतबाट अल्पमतसम्म पुगेको हो, यसमा ओलीले आत्मआलोचनासहित पश्चाताप गरेर सबैप्रति आत्मीयता देखाएर अघि बढ्छु भनेर प्रतिबद्धता जनाउनुपर्‍यो अनि सर्वोच्चको फागुन २३ पछिका निर्णय फिर्ता गर्न तयार हुनुपर्‍यो,”नेपाल पक्षका एक नेताले भने, “होइन भने विश्वासको मतको पक्षमा उभिएकाहरु देउवा सरकारमा सहभागी हुन्छौँ ।”

उनले प्रधानमन्त्री देउवाले पनि सकेसम्म पार्टी एकता कामम राख्न सुझाव दिँदै पार्टी एकता हुँदैन भने सरकारमा पनि स्वागत गर्ने बताएको जानकारी दिए ।

नेपाल पक्षकै एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले भने केही दिनभित्रै सरकारमा सहभागी हुने बताउछन् । चौधरीले अहिले एमाले पार्टी नै रहेको ओली र नेपाल गुटमात्रै रहेकाले नेपाल समूहले निर्णय गरेर मतदान गरेको बताए ।

ओलीबाटै गुटको सुरुवात भएकाले पार्टीमा समस्या देखिएको उनको भनाइ थियो । “स्वतन्त्र सांसदलाई ह्वीप लाग्दैन । स्वतन्त्र सांसदको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ । त्यही सरकारमा जाँदा हामीलाई चाहिँ कारबाही हुन्छ र ?,” प्रश्न गर्दै चौधरीले भने, “पार्टी होइन, केपी ओलीले गुट चलाउनुभएको हो । उहाँको कमिटीलाई अदालतले अस्वीकार गरिसक्यो । हामी माधव समूहमा छौँ । उहाँले ओली गुट चलाइरहनुभएको छ । कारबाही हुँदैन ।”

प्रधानमन्त्री निकट एक कांग्रेस नेताले पनि नेपाल पक्ष पार्टी एकता हुने नहुने अन्तिम अवस्थामा रहेको भन्दै एकता नभए सरकारमा सहभागी हुने तयारीमा रहेको बताए ।

“पार्टी एकता भएन भने माधवजीहरु पनि सरकारमा सहभागी हुनुहुन्छ, उहाँहरुलाई सम्मानजनक सहभागिताका लागि तयारी नै छ,” ती नेताले भने, “माधवजी सरकारमा सहभागी हुने अवस्थामा युवा प्रतिनिधित्वसहितको फ्रेस अनुहार मन्त्रिपरिषदमा पठाउने तयारी गर्नुभएको छ ।”

उनले त्यस्तो अवस्थामा माधव नेपाललाई ६ मन्त्रालय दिने तयारी रहेको जानकारी दिए । संसद् जोगाएपछि माधव नेपाल सकेसम्म पार्टी एकता पनि जोगाउने प्रयासमा रहेको भन्दै पार्टी एक भएको अवस्थामा भने सरकारमा सहभागिता नरहने उनले बताए । बाह्रखरीबाट