धनगढी, साउन ६ (ई–रैवार)
कैलालीबाट मध्यम र लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मंगलबार आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरेर मध्यम र लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनको लागि अनुमती दिएका हुन् ।
जारी आदेशमा त्रिभुुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले परीक्षार्थीहरुको आवागमनलाई दृष्टिगत गरेर सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको उल्लेख छ ।
कैलालीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई असारदेखि खुुकुलो बनाउदै लगिएको थियो । अहिले यहाँ मानिसको बढी भीडभाड हुने स्थान बाहेक बजार, व्यवसाय पूर्ण रुपमा खुुलिसकेका छन् । तर कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न स्थानीय प्रशासनले सबैसँग अनुरोध गरेको छ ।



