काठमाडौं : सरकारले फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि स्थानीय तहले नै आफ्नो क्षेत्रको विद्यालय खोल्ने सक्नेगरी तयारी गरेको हो।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि भएको छलफलमा कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि स्थानीय तहले नै आफ्नो क्षेत्रका विद्यालय खोल्ने सक्ने अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिएका हुन ।
‘‘आज शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय, अभिभावक संघ, सीसीएमसीसीका पदाधिकारीहरूबीच छलफल भयो । स्थानीय तहलाई नै अवस्था हेरेर विद्यालय खोल्न दिनेबारे छलफल भयो,” उनले भने ।
केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् । यसअघि सीसीएमसीसीले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् । सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ ।


