माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारमा पठाउने मन्त्री टुङ्गो लगाउने

Spread the love

काठमाडौं, साउन ६ (ई–रैवार)

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरु टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेको हो।

पार्टी कार्यालय सचिव श्रीराम ढकालले आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले क–कसलाई सरकारमा पठाउने नाम टुङ्गो लगाउने जानकारी दिएका हुन ।

बैठकमा पार्टी राजनीति र अन्य समसामयिक विषयमा पनि छलफल हुने कार्यसूची रहेको कार्यालय सचिव ढकालले बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले पम्फा भुसाल र जनार्दन शर्मालाई पठाइसकेको छ ।

सरकारमा सहभागिताका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए । छलफलमा देउवाले सकेसम्म चाँडै सरकारमा पठाउने नाम टुङ्गो लगाउन आग्रह गरेका थिए ।

प्रचण्ड निवास पुगेका प्रधानमन्त्री देउवाले विरामीअवस्थामा रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।