काठमाडौँ, जेठ ४ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ विरुद्धको रिटको सुनुवाइ आज हुने भएको छ । प्रधानमन्त्री ओलीको शपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश आफैंले हेर्ने भएका हुन् ।
प्रधानमन्त्री ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल बेन्चमा सुनुवाइ हुन लागेको हो ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गर्दा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।
कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ लिनु गैरसंवैधानिक भएको जिकिर गर्दै अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली, नवराज अधिकारी, लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा चारवटा छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।
निवेदक कानुन ब्यबसायीहरुले नेपालको संविधानको धारा–८० अनुसार शपथ बदर गरि पुनस् शपथ गराउन माग गरेका छन् ।


