काठमाडौँ, साउन ४ (ई–रैवार)
प्रधानमन्त्री शेरबहादुर देउवालाई भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै भारततीय प्रधानमन्त्री मोदीले टेलिफोन गर्नुका साथै ट्वीट मार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना तथा बधाई दिएका हुन्।
आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले नेपाल र भारतबीचका सबै क्षेत्रमा अद्वितीय साझेदारी बृद्धि गर्न र जनताबीचको गहिरो सम्बन्ध सुदृढ गर्न प्रधानमन्त्री देउवासँग काम गर्न चाहेको उल्लेख गरेका छन् ।
भारतका प्रधानमन्त्रीले नेपालमा प्रधानमन्त्री नियुक्त भएलगत्तै बधाई तथा शुभकामना दिँदै आए पनि यसपटक झन्डै एक साता ढिला गरी बधाई दिए। देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। नेपालका लागि भारतीय राजदूतले भने देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै उनकै निवास पुगेर बधाई दिएका थिए।
भारतीय समकक्षीले नेपालमा प्रधानमन्त्री नियुक्त भएको करिब एक सातासम्म पनि प्रतिक्रिया नदिएपछि कतिपयले देउवा प्रधानमन्त्री भएका प्रति भारत सकारात्मक नभएको हो कि भन्ने हिसाबले पनि अथ्र्र्याएका थिए। नेपालमा हुने राजनीतिक र सत्ता परिवर्तनमा भारतको चासो रहँदै आएको छ।
प्रधानमन्त्री देउवाले आइतबार संसदमा १६५ सांसदहरुको मतसहित विश्वासको मत पाएका थिए । प्रधानमन्त्री देउवाको पक्षमा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएको छ । प्रमुख विपक्षी एमालेका पनि २२ सांसदले उनलाई मत दिएका छन् ।


