धनगढी, असोज १२ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय १३ जनाको कोरोना परीक्षण हुदा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ३३ जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जना, जोशीपुर गाउँपालिकाका ६ जना, घोडाघोडी नगरपालिकाका २ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का ७ जना र शुक्लाफाटा नगरपालिका–९ का एक जनामा कारोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।छिल्लो २४ घण्टामा ८३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको रामारोशन गाउँपालिकाका ७ पुरुष र मंगलसेन नगरपालिकाका २ महिलामा कोरोना पुष्टि भएको हो ।
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार बझाङको छविसपाथिभेरा गाउँपालिकाका ५ जना, बुगल नगरपालिकाका २ जना, मष्टा गाउँपालिकाका ४ जना, दुर्गाथली गाउँपालिकाका ३ जना र केदारस्यू गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २ सय ५३ जनाको कोरोना परीक्षण गरिएको खड्काले जानकारी दिए ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा २४ घण्टामा १ सय ३३ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै डडेल्धुरा अस्पतालमा १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय नाघेको छ। सुदूरपश्चिम प्रदेशमा ६ हजार बढिले कोरोना जितेका छन् भने २१ जनाको मृत्यु भएको छ ।


