प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि नेपाल पक्ष छलफलमा, प्रतिनिधिसभामा यस्तो छ अङ्कगणित

Spread the love

काठमाडौँ,साउन ३ (ई–रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव नेपालपक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा नेपाल पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।

माधव पक्षीय एक नेताका अनुसार नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्वर पुगेको बताएका छन् ।

‘हामी कार्यदलको प्रस्तावका सम्बन्धमा छलफल गर्न नेता नेपालसँग भेटवार्ता गर्ने तयारीमा छौँ’, रावलले भने, ‘हिजो अध्यक्ष ओलीसँग भेटेका थियौँ ।’ तर अर्का एक माधव पक्षीय नेताले विश्वासको मतका बारेमा समेत छलफल हुने बताए । ‘विश्वासको मतका बारेमा छलफल गर्ने आजको एजेन्डा त थिएन तर, प्रधानमन्त्रीले आजै विश्वासको मत लिने तयारी भएको बुझिएको र आजै संसद् समेत रहेकाले स्वाभाविक रूपमा कुराकानी हुन्छ ’ ती नेताको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मतका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गरेका छन् ।  संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । सर्वाेच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी हुन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजै बस्ने दोश्रो बैठकमा संविधान बमोजिम विश्वासको मत लिने छन् । यसअघि माधव पक्षका २६ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए । तर पछि प्रतिनिधि सभा पुनर्स्थापना र  देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने माधव पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाउलान् ? यस्तो छ अङ्कगणित

प्रधानमन्त्रीमा नियुक्त भएको एकसाता पनि नबित्दै शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । यसबारेमा प्रतिनिधिसभाको अङ्क गणित यस्तो छ ।

प्रतिनिधिसभा नेपाली काँग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । जसपाका ३४ मध्ये उपेन्द्र यादवको पक्षमा १७ सांसद उभिएका छन् । राष्ट्रिय जनमोर्चाकी एक सांसद पनि प्रधानमन्त्री देउवाको गठबन्धनमा छिन् । यी सबै जोड्दा देउवाको पक्षमा १२८ मत पुग्छ ।

प्रतिनिधिसभामा हाल कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन प्रधानमन्त्री देउवाले १३६ मत ल्याउनुपर्ने हुन्छ । यो हिसाबले उनलाई थप ८ मतका लागि या त माधव नेपाल समूहले मत हाल्नुपर्ने हुन्छ, या महन्थ ठाकुर पक्षले मत दिनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा राप्रपा र नेपाल मजदुर किसान पार्टीका एक/एक सिट छन् । राप्रपा सांसद राजेन्द्र लिङ्देन यसबारे पार्टीले निर्णय गरिनसकेको बताउँछन् । नेमकिपाले देउवालाई विश्वासको मत नदिने सो पार्टीका सांसद प्रेम सुवालले बताए ।

माधव नेपाल पक्षका नेताहरूले भने देउवालाई विश्वासको मत दिने बताउँदै आएका छन् । यसअघि नै माधव नेपाल समूह देउवाको गठबन्धनमा सहभागी हुँदै आएको छ । सर्वोच्च अदालतमा परेको रिटमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । सर्वोच्चमा बुझाइएको रिटमा बहुमत अर्थात् १४६ सांसदको हस्ताक्षर जुटेको हुनाले त्यो मत सदनमा पनि देउवाले पाउने सत्ता पक्षको दाबी छ ।

एमालेका कुल १२१ सांसदमध्ये २३ जना माधव नेपालको पक्षमा रहेकाले ओलीको पक्षमा ९८ सांसदमात्र छन् । यीमध्ये पनि केही सांसदले फ्लोर क्रस गरेर देउवालाई सघाउने भित्री वचन दिएको काँग्रेस स्रोतको दाबी छ ।

संविधानको धारा ७६(५) अनुसार सरकार बन्ने प्रयोजनका लागि मत दिएबापत् सांसदहरूलाई कारबाही नगर्नू भनेर सर्वोच्च अदालतले ह्वीप नलाग्ने निर्णय गरिसकेको अवस्था रहेकाले देउवाको पक्षमा क्रस भोटिङ हुने र सरकारले विश्वासको मत पाउने सत्ता पक्षको दाबी छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा २३२ सांसद उपस्थित रहेकोमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत खसेको थियो । १५ जना भने तटस्थ रहे ।