संसद विघटनपछि निषेधाज्ञा कार्यान्वयनमा कडाइ गर्न गृहमन्त्रालयको निर्देशन

Spread the love

काठमाडौं, जेठ ९ (ई-रैवार)

संसद विघटनपछि निषेधाज्ञा कार्यान्वयनमा कडाइ गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइका साथ कार्यान्वयन गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हो।

गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइका साथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधि सभा विघटनगरी चुनाव घोषणा गरेको सन्दर्भमा समर्थन र विरोधका कार्यक्रमहरु हुन सक्नेतर्फ सचेत गराउँदै गृह मन्त्रालयले सुरक्षा निकायहरुलाई भीडभाड हुने जुनसुकै गतिविधि रोक्न भनेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिनघि जारी गरेसँगै अध्यादेश कार्यान्वयन कडाइसाथ गर्न निर्देशन दिइएको गृहसचिव न्यौपानेले बताए ।

गृहसचिव न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको हो ।

यस्तै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पनि भीडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको छ । निषेधाज्ञाका पालना नगर्नेलाई हालै जारी कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन पनि गृह सचिव न्यौपानेले निर्देशन दिएका छन् ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक गाडी चलाएर कारबाही गर्न सक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुई पाङ्ग्रेलाई दुई हजार र अन्य गाडीलाई पाँच हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिँडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।