बिहानैदेखि अधिकांश भागमा वर्षा, मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

Spread the love

काठमाडौं, साउन १ (ई–रैवार)

आज विहानै देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानै देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

विभागका अनुसार आज विहान देशभर सामान्य बदली रही  प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, सुदूर-पश्चिम प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर-पश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद् निराजन सापकोटाको आग्रह छ ।

यसैबीच, शनिबार (भोलि)बाट मनसुन थप सक्रिय हुने भएको छ । हाल देशभर रहेको मनसुन शनिबारबाट थप सक्रिय हुने भएको हो ।

“साउन २ गतेबाट ४ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने तथा बंगालको खाडीबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” मौसमविद् निराजन सापकोटा भन्छन्, “सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”