माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सत्ता समीकरणका विषय छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सत्ता समीकरणका विषय छलफल हुने
Spread the love

काठमाडौँ, फागुन २९ (ई-रैवार)

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित समीकरण लगायतका विषयमा छलफल हुने बताईएको् छ ।

माओवादी केन्द्रका अनुसार बिहान ९ बजे डाकिएको बैठकमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापालगायत २३ जनालाई मातृ पार्टीमा फर्कने मौका दिने र नफर्किएमा उनीहरूलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ ।

माओवादी केन्द्रका नेता गणेश साहले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापालगायत २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन आह्वान गर्ने जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए । तर, सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी अझै निर्णयमा पुगिसेकेको छैन ।

नेता गुरुङ अझै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँछन् । “संविधान कानुन केही पनि नमान्ने भएपछि समर्थन फिर्ता, नफिर्ताको कुनै अर्थ छैन । समर्थन फिर्ताभन्दा पनि पुस ५ को कमद सर्वोच्चले असंवैधानिक भनेर ठहर गरेपछि ओलीले राजीनामा दिनुपर्ने हो । त्यो भन्दा ठूलो के हुन्छ र ?,” उनले भने ।

माओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पनि शुक्रबार समर्थन फिर्तागर्नेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको बताएका थिए ।

उनले प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एमालेका नेता माधवकुमार नेपाल समूहसँग छलफल गरेर मात्रै सरकारलाई दिएको समर्थन फिर्ताबारे टुंगोमा पुग्ने बताएका थिए । आजको छलफलमा सरकारलाई दिएको समर्थनबारे छलफल नहुने नेता गुरुङले बताए ।

यस्तै एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतकालाई अध्यक्ष केपी ओलीले जिम्मेवारी खोस्दै अघि बढेको विषयमा पनि बैठकमा छलफलको तयारी भएको जनाइएको छ ।

नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियो । नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताइदिएपछि ओली पार्टी कमिटी र संसदीय दलमा बहुमतमा छन् ।