चुनौतीको चाङमाथि नयाँ सरकार

चुनौतीको चाङमाथि नयाँ सरकार
Spread the love

कुलचन्द्र वाग्ले /

राजनीतिक बाध्यताले नेपाली कांग्रेसको जिम्मामा पुनः राज्य सञ्चालनको अवसर आएको छ । देशको बागडोर समाल्ने अवसर जति सुखद छ त्यति नै चुनौतीको चाङ पनि छ । चुनौती अवसर पनि हो । प्रतिनिधि सभामा प्रचण्ड बहुमत पाएको कम्युनिस्ट सरकार पूर्ण अवधि चल्नै नसक्ने भएर प्रमुख प्रतिपक्ष कांग्रेसको काँधमा देशको बागडोर आउला भन्ने कसैले सोचेको पनि थिएन ।

सायद, कांग्रेस र सभापति शेरबहादुर देउवाले यो अवसरको कल्पनै गरेका थिएनन् । राजनीतिमा सोचेको मात्र हुने होइन ।

नसोचेको परिणाम पनि सम्भव छ भन्ने दृश्य अहिलेको परिप्रेक्ष्य हो । जनमतको निर्देशलाई स्वीकार गरेर शालीन र सहयोगी प्रतिपक्षमा रहन राजी कांग्रेसलाई आइलागेको दायित्वबाट पन्छने छुट नभएकै कारण सरकारको नेतृत्वमा पुगेको स्पष्ट छ ।

राजनीतिमा नसोचिएको परिणाम किन आयो ? यो प्रश्नको उत्तर खोज्दा धेरै कारण भेटिन सक्छ । सुरुमा  दुईतिहाइ मत लिएर सरकार बनाएका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली प्रायः दुर्लभ सबै समर्थन गुमाएर सरकारबाट किन बहिर्गमित भए ? यो प्रश्नको समीक्षा त अरुलेभन्दा बढी स्वयं ओली, उनको स्वार्थमा आँखा चिम्लिएर सहीछाप दिने राष्ट्रपति र आसेपासे सल्लाहकारले गर्नु ठीक हुन्छ ।

नेपाली राजनीतिमा यो गम्भीर शिक्षा हो । गइसकेका र पदमुक्त भएपछि पनि निजी निवास बाल्कोट जाँदै गर्दा ओलीले देखाएको दम्भी तामझाम र अरू नेताप्रति गरेको कटु टिप्पणीले उनी सहिष्णु राजनीति गर्ने संस्कारका होइनन् भन्ने स्वयंले पुष्टि गरेका छन् । यो तथ्य स्वीकार गर्न समर्थकहरूलाई सहज नहुनसक्छ । किनभने  यसअघि तिनका नेता ओलीलाई आलोचनात्मक सुझाव दिने सदाशयीलाई अरिङाल बनेर झम्टने बिखालु दीक्षाका बाहक ती भएकै हुन् ।

कम्युनिस्ट ओलीको अलोकतान्त्रिक कार्यशैली र अहंकारले समग्रमा उनी देशको राजनीतिमा बोझ साबित भएको ठहर गरियो ।

बोझ फालिनु प्राकृतिक नै हो । राजनीतिक निष्कर्ष भयो त्यही । थप उनको कार्यशैलीमा टिप्पणी फोहर उधिन्नुमात्र हो । तर, ओलीकै कार्यशैलीको मतियार बनेर राष्ट्रपति विद्यादेवी भण्डारीले जे जस्तो अभ्यास गरिन् यसले उनी यस पदको गरिमाका लागि सर्वथा अयोग्य हुन् भन्ने स्वयं प्रमाणित गरेकी छन् । सहिष्णु, समावेशी मार्ग अवलम्बन गर्न लगाएको वा गरेको भए एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री पद पाँच वर्ष अकण्टक नै थियो । तर, राजनीतिलाई कंकटाकीर्ण त उनी स्वयंले बनाए ।

यी विषयमा पछि केही कुरा राख्ने गरी नयाँ सरकारको चुनौती र अवसरमाथि संक्षिप्त धारणा बनाउँदा ओलीको अपसंस्कृत कार्यशैलीको छाया अब राजनीतिमा पर्न नदिनु नै हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विगत मूल्यांकन जसरी गरिए पनि उनी परिपक्व राजनीतिज्ञ हुन् भन्नेमा शंका छैन । उनको परिपक्वताको लाभ देश, जनता वा समावेशी लोकतन्त्रले पाउने र उनी स्वयंको  राजनीतिक उत्तरार्धको यात्रालाई ऐतिहासिक बनाउने अवसर छ ।

कठिनाइ छ, चुनौती छन् । नेपालका राजनीतिक दलको प्रवृत्ति स्वार्थ वा व्यक्तिकेन्द्रित सोचले ग्रसित छ । यस्तो संस्कारबीच सरकारको नेतृत्वमा पुगेका कांग्रेस सभापति देउवालाई सहिष्णु, समावेशी र बहुल मान्यता आत्मसात गरेर देशलाई सही बाटोमा हिँडाउन सहज छैन । यसका लागि नेपाली कांग्रेसका तमाम नेता, कार्यकर्ता, शुभेच्छुक र यो सरकार बनाउन भूमिका निर्वाह गर्ने दलहरूको साथ सहयोग अपेक्षित छ । सहयोग व्यक्ति देउवालाई सफल बनाउन होइन, देश जनता र लोकतन्त्रको उन्नत भविष्यका लागि हो । अन्यथा देश अनपेक्षित दुर्घटनामा जाने र कांग्रेससमेत सहयोगी  दलहरू पनि अक्षम साबित हुनेछन् ।

भन्नै परेन, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओली नेतृत्वले लगातार गरेको लोकतन्त्रविपरीतका असंवैधानिक तानाशाही निर्णयले त्रसित नेपाली जनमतले अहिले केही त्राण पाएको छ । देशको भविष्य लोकतन्त्रमा देख्नेहरूलाई केही सान्त्वना मिलेको छ । स्वतन्त्र प्रेसका पक्षधरहरु आश्वस्त छन् । देउवा पनि मानिस हुन् र  मानवीय कमजोरी छन् तैपनि उनको लोकतन्त्रप्रतिको अटुट समर्पणमा कसैले शंका गर्न चाहँदैन र सक्दैन पनि ।

गत ओली सरकारले विकृतिको पहाड खडा गरेको छ । संवैधानिक निकायमा गरेको ‘अवैध’ नियुक्ति वा शक्ति पृथकीकरणको मान्यताविपरीत गरिएका एकाधिकारवादी निर्णयलगायत दर्जनौ अध्यादेशको भरमा लिइएका स्वेच्छाचारी निर्णयलाई बदल्नु देउवा सरकारका चुनौती हुन् । ओली सरकार संरक्षित भ्रष्टाचार निवारण गर्नु र सुशासन पुनःस्थापना गर्नु कम चुनौती होइनन् ।

यी सबै चुनौती सामना गर्न सत्ताका दलालहरू व्यवधान हुनेछन् । जहाँ सरकारी सत्ता छ त्यतै झुम्मिने र गुलिया कुरा गरेर आर्थिक वा राजनीतिक स्वार्थ पूरा गर्ने ठूलो दलाल वर्ग यहाँ खडा भएको छ । तिनले यसअघिका सबै सरकारलाई गाँजे । ओली नेतृत्वको सरकार पनि तिनको मतियार भएकै कारण ‘लाल सलाम’ भयो । राजनीतिमा ‘नाक काट्ने’ भक्तको पहिचान सबैभन्दा प्रमुख चातुर्य हो ।

यो सरकार बनाउने दल, तिनका नेता र कांग्रेसले बुझ्नुपर्ने षड्यन्त्रको अखडा कहाँ छ भन्ने हो । एमाले अध्यक्ष ओली सहिष्णु राजनीति गर्न तयार छैनन् भन्ने उनले देखाइसके । उनी अराजक जत्था सडकमा उतारेर शक्ति प्रदर्शन र  फेरि पनि आफूबाहेक कोही छैन भन्ने दम्भ स्थापित गर्न आतुर छन् । षड्यन्त्रको अर्को अखडा शीतल निवास भएको छ ।

जनताको कर खाएर, पसिना पिएर कुनै एक व्यक्तिको अहं र स्वार्थमा शीतल निवास प्रयोग भएको दर्जनौ घटनाको आलोचना नागरिक समाजले गरिरहेको छ । जनताको कर खानेहरूको गलत कृत्यको आलोचना जनताले गर्न सक्छन्, पाउँछन् । सम्मान, सुविधा र खाना, दाना दिनेले टिप्पणी गर्नु र समान व्यवहारको अपेक्षा गर्नु अन्यथा हो र ?

यस्तो टिप्पणी कुनै आग्रह र आरोप होइन, घटनावलीको प्रमाण हो । तत्कालीन प्रधानमन्त्री ओलीको हरेक वैध, अवैध निर्णयलाई सहीछाप दिन रातबिरात पनि तयार राष्ट्रपति भण्डारी नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिने औपचारिकतासम्म निर्वाह गर्न तयार देखिइनन् । गरिमामय पदमा आसीनको यस्तो असभ्य, असहिष्णु र अमर्यादित व्यवहारको अर्को उदाहरण विश्वमा भेटिँदैन । यस्तो व्यवहारले षड्यन्त्रकै पुनर्पुष्टि गरेको छ ।

यस सरकारका संरचनाकारहरूले शीतल निवासभित्र संरक्षित षड्यन्त्र पक्कै पनि बुझेका छन् । किनभने यसअघि पनि उनीहरूले भोगिसकेका छन् । त्यो निवासभित्रबाट नेकपाकै बेला साधन, स्रोत र पद बाँडफाँटको प्रेरणा दिइएको भए सायद नेकपा फुट्ने थिएन । न एमालेभित्र माधव नेपाल, झलनाथ खनाल समूह जन्मिने थियो ।

सबै राजनीतिक दलको बाध्यताकै कारण नेपाली कांग्रेसको नेतृत्वको यो सरकार बनाइएको हो । सरकार बनाउन नेकपा माओवादी केन्द्र, जसपा यादव–भट्टराई समूहको भूमिकाभन्दा बढी एमाले खनालनेपाल समूहको योगदान निर्णायक रह्यो ।

यसअघि अनिच्छुक देखिएको कांग्रेस पनि सहकर्मीहरूको संविधान र लोकतन्त्र बचाउने सर्तमा तयार हुनै पर्यो, राजनीति हो ।

जजसले अहिलेको सरकारी संरचना बनाउन र संसद् बनाउन योगदान गरे तिनले गन्तव्यसम्म पुर्याउने विश्वास राजनीतिक हुन्छ ।
पार्टीको महाधिवेशन सम्मुख देशको राजनीतिक बागडोर समाल्न उद्यत कांग्रेस सभापति देउवालाई न महाधिवेशन टार्ने छुट छ, न ‘अकेला चलो’ भन्ने अवसर । सहयोगी दलहरूसँग सँगसँगै हिंडेर देशलाई नयाँ भरोसा, जनतालाई साथ र लोकतन्त्रलाई सही गन्तव्य दिने चुनौती सरकार सामु छ । बिगारिएको कूटनीतिक सम्बन्धलाई सुधारको दिशामा लानुपर्नेछ ।

सयौं चुनौतीको समाधान गर्दै सरकारको नेतृत्व र सहभागी दलहरूको दायित्व कोरोना महामारीबाट नागरिकलाई बचाउनु अहिलेको पहिलो काम हुनुपर्छ । निःशुल्क ‘भ्याक्सिनेसन’ सुलभ उपचार र आवश्यक सेवा सुविधा गाउँगाउँसम्म पुर्याउनु पर्नेछ ।

कमजोर आर्थिक अवस्थाका तमाम श्रमजीवीलाई पर्याप्त सहायता दिनु र क्षतविक्षत अर्थ व्यवस्थालाई सुधार गर्नु थप चुनौती हो ।

बाढी पहिरोपीडित नागरिकले राज्यको सहयोग अपेक्षा गर्नु स्वाभाविक हो । महँगी नियन्त्रण र राज्ययन्त्रमा गरिएको अति राजनीतिक वा दलीय र व्यक्तिकरणको सफाइ पनि सरकारको चुनौती हो ।

सबै पेसा, व्यवसायीको अपेक्षा, माग सुनिन्छ । चारैतिर अपेक्षामात्रै छ । यस्ता सबै अपेक्षाको सम्बोधन यो चुनावी सरकारले कति गर्न सक्ला ? तर, सकारात्मक पहल र परिणाम देखाएर सरकारले विश्वसनीय र निष्पक्ष चुनावी वातावरण बनाउन सम्भव छ । यसमा जनताले साथ दिनेछन् ।

कांग्रेस चुनाव गराउने सरकारको नेतृत्वमा भएर पनि हार्न तयार तर जनमतलाई सम्मान गर्ने दल हो । किनभने उसको प्रतिबद्धता लोकतन्त्र र भयरहित निर्वाचनप्रति रहेको स्पष्ट भइसकेको छ । इतिहासको उदाहरण प्रधानमन्त्री देउवा वा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको छ ।

उनीहरूको नेतृत्वमा चुनाव भए, कतिपयमा पराजय भोगे, जनमतलाई कांग्रेसले सहजै स्वीकार गर्यो । यही विशेषताले अहिलेको सरकार निर्माणमा कांग्रेसप्रति सहयोगी दल विश्वस्त वा सकारात्मक भए भन्ने लाग्छ । सबै मिलून्, देशलाई गन्तव्य दिऊन् । सद्कार्यमा जनताको साथ सहयोग रहने नै छ । बाह्रखरीबाट