काठमाडौं, असार ४ (ई-रैवार)
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको छ । आज निर्वाचन आयोग पुगेर यादव पक्षले ३० जनाको हस्ताक्षरसहित पार्टीको आधिकारिकताका लागी दाबी गरेको हो ।
यादव पक्षको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरु आयोगमा पुगेका थिए ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्षले दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गरेको छ ।
सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग पुगेको हो ।




