एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता, वार्ता निष्कर्षविहीन

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता, वार्ता निष्कर्षविहीन
Spread the love

काठमाडौँ, असार २३ (ई–रैवार)

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता भएको छ । ओली र नेपालबीच बुधबार साँझ होटल मेरियटमा भेट भएको हो ।

दुबै पक्षका नेताहरु रहेको कार्यदल विवादित विषयमा सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ होटल मेरियटमा भेट भएको थियो । ओली र नेपालबीच दुई घण्टा भएको वार्ता निष्कर्षविहीन भएको छ ।

एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे दुई नेतालाई ब्रिफिङ गरेको छ । होटल मेरियटमा नेताहरुबीच भएको छलफलपछि नेता भीम रावल र सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए ।

होटल मेरियटमा ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए । र, ओली र नेपालबीच केहीबेर वान अन वान वार्तापछि कार्यदल सदस्यहरु पनि सहभागी भएका थिए । तर कुनै ठोस सहमति भएन ।

बैठकमा अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए । ‘खासगरी अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि वार्ता निष्कर्षविहीन​ बन्यो,’ उनको भनाइ थियो ।

ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए ।