आन्तरिक मनमुटावलाई बिर्सेर स्थानिय निर्वाचनको तयारीमा जुट्न कांग्रेस नेता साउदको निर्देशन

Spread the love

कञ्चनपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आन्तरिक मनमुटावलाई बिर्सेर स्थानिय निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाइ निर्देशन दिएका छन् । केन्द्रीय सदस्य साउदले सबैले महाधिवेशनको आन्तरिक तिक्ततालाई बिर्सेर आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेस कञ्चनपुरको कृष्णपुर नगर कार्यसमिति बाणीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य साउदले पार्टीको आन्तरिक तिक्ततालाई बिर्सेर स्थानिय निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । उनले कांग्रेस देश र जनताको हितमा काम गर्न कटिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

महाधिवेशनपछि कांग्रेसभित्र कुनै पनि किसिमको विवाद बाँकी नरहेकाले अब पार्टीलाई थप सुदृढ बनाउन लाग्नुपर्ने उनको धारणा छ ।आगामी निर्वाचन जित्नका लागि सबै एकजुट भएर जनता माँझ जानुपर्ने पनि नेता साउदको तर्क थियो ।

फरक प्रसंगमा कूरा गर्दै नेता साउदले कञ्चनपुरस्थित राष्ट्रिय निकुञ्जको समस्या चाडै समाधान हुने पनि बताए । उनले निकुञ्जपीडितका समस्या समाधान गर्न सरकार संवेदनशील रहेको पनि स्पष्ट पारेका छन् ।

आफूले प्रधानमन्त्री र बनमन्त्रीलाई पटकपटक उक्त समस्याबारे अवगत गराएको र प्रधानमन्त्री देउवाले नै यो समस्या समाधानप्रती चासो देखाएकाले अब चाडै निकुञ्जपीडितका समस्या समाधान हुने उनले बताएका हुन् ।

पार्टीको १४ औं महाधिवेशनपछि नेता कार्यकर्तामा थप उर्जा र जोश उत्पन्न भएकाले त्यो सकारात्मक उर्जालाई देश विकासमा परिचालन गर्नुपर्ने नेता साउदको भनाई छ ।