रूपन्देही, असार १८ (ई–रैवार)
लुम्बिनी प्रदेश सरकारका राज्यमन्त्री सुमन शर्मा रायमाझीले आज पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले शुक्रबार भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएकी हुन् ।
जनता समाजवादी पार्टीकोतर्फबाट वैशाख ६ गते नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी थिइन् ।
जनता समाजवादी पार्टीको तर्फबाट ६ प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा रासपा दुई धारमा विभाजित छ । उपेन्द्र यादव समूहका दुई जना सरकार बाहिर छन् । ४ जना वैशाख ६ गते बिहान सरकारको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै साँझ सरकारमा सहभागी भएका थिए ।
जसपाकै सन्तोष पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र विजय यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
जनता समाजवादी पार्टीले पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै कारबाहीमा परेका उनीहरु सर्वोच्चको अल्पकालीन आदेश मार्फत पूर्ण फैसला नआउँदासम्मका लागि मन्त्री पदको काममा फर्केका थिए । मुद्दाको पूर्ण सुनुवाइको पेसी सोमबारका लागि तोकिएको छ ।
जसपाका ६ सदस्यमध्ये शर्माको राजीनामा पछि जसपाका ३ प्रदेश सभा सदस्य सरकारको समर्थनमा र ३ विपक्षमा देखिएका छन् । शर्माको राजीनामासँगै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार पुन: अल्पमतमा परेको छ ।
यसअघि वैशाख १९ गते शंकर पोखरेल एमालेको एकल बहुमत दाबी गर्दै संविधानको धारा १६८ को उपदफा १ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विपक्षी गठबन्धनले सरकारको वैधानिकता माथि प्रश्न उठाउँदै सरकारले पेश गरेको बजेटमाथि छलफल समेत गर्न दिएका छैनन् ।
विपक्षीको अवरोधले प्रदेश सभा बैठक असार २७ गतेसम्मका लागि स्थगित गरिएको छ । लुम्बिनी प्रदेश सभामा अहिले ८३ प्रदेश सभा सदस्य छन् । सरकार सञ्चालनका लागि ४२ सदस्य आवश्यक पर्छ । शर्माको राजीनामा पनि एमाले नेतृत्वको सरकारमा नेकपा एमालेका ३८ र जसपाका २ गरी ४० सदस्य भएका छन् ।



