मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी, चार प्रदेशमा भारी वर्षाको सम्भावना

Spread the love

काठमाडौँ, असार ७ (ई-रैवार)

मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

१ नम्वर प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको हो । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशभर सामान्य देखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

मनसुनी वायुकै प्रभावले आज प्रदेश एकमा ‘ धेरै भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । मंगलबार र बुधबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा  नदीनाला र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले कमजोर जमिन भएका ठाउँमा बसोबास गर्नेहरु तथा नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले विशेष सजग हुनुपर्ने मौसमविद् मीनकुमार आर्याल बताउँछन् । नदीको बहावले खतराको तह पार गरेको अवस्थामा सुरक्षित ठाउँमा स्थानान्तरण हुनुपर्ने उनको सुझाव छ । निरन्तर पानी परिरहेका क्षेत्रमा भारी वर्षा नभए पनि कुनै पनि बेला पहिरो जनासक्ने भएकाले यसमा पनि सजग हुनु पर्नेमा मौसमविद् आर्यल सतर्क हुनुपर्नेमा जोड दिन्छन् ।

बाढी तथा पहिरोका कारण यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

‘देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित भारी वर्षा र प्रदेश १ का एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।