राप्रपाले विधानबाट ‘राजसंस्था र हिन्दुराष्ट्र’ हटायो, आयोगद्वारा राजनीतिक दलको मान्यता

राप्रपाले विधानबाट ‘राजसंस्था र हिन्दुराष्ट्र’ हटायो, आयोगद्वारा राजनीतिक दलको मान्यता
Spread the love

काठमाडौं, असोज २२ (ई-रैवार)

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र’ को एजेण्डालाई हटाएर राजनीतिक दलको मान्यता दिएको छ ।

आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीले नेपालको संविधानको धारा ४ बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य आत्मसात गर्नुपर्ने गरी दल दर्ता भएको जानकारी दिएका छन् ।

उनका अनुसार राप्रपाको चुनाव चिन्ह हलो हुने र झन्डा यथावत रहने छ । राप्रपाको झण्डामा गाई र रातो, पहलो र निलो रंग मिश्रित रहेको थियो । यसअघि राप्रपाले आफ्नो एजेण्डामा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था भएको भन्दै ०७४ को निर्वाचनमा मत मागेको थियो ।

०७६ फागुन २९ गते कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकिकरण भइ बनेको राप्रपालाई निर्वाचन आयोगले बुधबार राजनीतिक दलको मान्यता दिएको हो ।

बुधबार राप्रपाका अध्यक्ष कमल थापाले निर्वाचन आयोगलाई धन्यवाद दिँदै लेखेका सामाजिक सञ्‍जालमा लेखेका छन्, “राप्रपा र राप्रपा(संयुक्त)को एकीरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।आयोगलाई धन्यवाद । २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी छु । गौरव लागेको छ । आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प गर्दछु ।”

अब राप्रपाको चुनावचिन्ह ‘हलो’ हुनेछ । पार्टीमा तीन अध्यक्ष रहने छन् । पार्टीको महाधिवेशन आगामी वैशाखमा हुने जनाइएको छ ।