धनगढी, असार ६ (ई-रैवार)
तीन वर्षसम्म सडक नबनाएको भन्दै धनगढीका स्थानीयले सडकमै धान रोपाइँ गरेका छन्। हसनपुर-शिवनगर हिलाम्य अवस्थामा रहेको सडकमा स्थानीयले हलोगोरुसहित विरोध गर्न रोपाइँ गरेका हुन्।
स्थानीयहरुले उपमहानगरपालिकाको वेवास्ताको कारण सडक तीन वर्षदेखि अलपत्र पारेको भन्दै धान रोप्दै नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र निर्माण व्यवसायीविरुद्ध हिलाम्मे सडकमा नारावाजी गरेको छन्।

उपमहानरपालिकाले सडक स्तरोन्नति गर्ने भनेर करिब ३ सय मिटरको सो सडकमा पहिले गरिएको कालोपत्रे समेत खनेर सडक भत्काएको तर नबनाएको भन्दै विरोध गरेको स्थानीय दिवाकर भट्टले बताए।
उनीहरूले स्थानीय सरकार मुर्दावाद लेखेको प्लेकार्ड समेत बोकेर रोपाइँमा सहभागी भएका थिए। भएका संरचना भत्काउन आउने, बनाउन नआउने भन्दै केहीबेर सरकारविरूद्ध स्थानीयले नाराबाजी पनि गरेका थिए। पिच अवस्थामा रहेको सडक भत्काएपछि अहिले हिलाम्य भएर सास्ती भोग्नुपरिरहेको स्थानीयको भनाइ छ।


