काठमाण्डौँ, असार ३ (ई-रैवार)
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । बैठकले पदाधिकारी बैठकले गरेका निर्णय स्वीकृत गर्नेलगायत निर्णय गर्ने बुझिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठक विशेष गरी पार्टीको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।
कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणमा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने तयारी गरेको छ ।
गत शनिबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले पार्टीको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव गरेको थियो ।
पदाधिकारी बैठकको प्रस्तावमा छलफल गरी केन्द्रीय समितिले अन्तिम निर्णय गर्नेछ ।
यसअघि भदौ ७ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका कोरोना महामारीका कारण प्रभावित भइसकेको छ । कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य राखेकोमा अहिलेसम्म क्रियाशील सदस्यको संख्या ८ लाख पुगेको छ ।


