मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत : तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न निर्देशन

Spread the love

काठमाण्डौँ, असार २ (ई-रैवार)

विपद व्यवस्थापन कार्यकारी समिति बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्ययोजना स्वीकृत गरेको छ । बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको छ ।

बैठकले बैठकले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन समेत  दिएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरी सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

समितिको गृहमन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि ,२०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८ , गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि ,२०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनःनिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्विकृत गरेको हो ।

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा गृहमन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धार खटिन मातहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख पोखरेलले जानकारी दिए ।

बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी(पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।