काठमाण्डौँ, असार २ (ई-रैवार)
सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ भने कयौँ बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सात जनाको मृत्यु भएको पुष्टि भएपनी थप मानवीय क्षतिको विवरण आएको छैन । बेपत्ता हुनेहरुको विवरण पनी फरकरफरक आइरहेको छ ।
“आमा ह्याल्मो बसपार्क, साना टहराहरू, झोलुङ्गे पुल लगायतका संरचनाहरू पूर्णरूपमा ध्वस्त भएका छन् । यस्तो बाढी हामीले कहिल्यै देखेका थिएनौँ,” बाढीग्रस्त क्षेत्रका स्थानीयबासीले जानकारी दिएका छन् ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकालेउद्धार तथा राहतको काममा नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
सिन्धुपालोच्कबाटै प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् । प्रशासनले बेपत्ताहरुको यकिन विवरण प्राप्त भइनसकेको र सूचना संकलन जारी रहेको जनाएको छ ।
बाढीले मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त भएको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको मन्त्री तामाङले जनाएका छन् । मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको छ ।


