काठमाडौं :
नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि सभापतिमा उमेदवारी दिएका छन् । राष्ट्रियसभा गृह पुगेर उनले सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ । वर्तमान सभापति देउवासहित सभापतिमा ६ जनाको उमेदवारी परेको छ ।
नेपाली काँग्रेस निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय सकिन लाग्दा (पौने ५ बजे) दिएको जानकारी अनुसार देउवासँगै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा मनोनयन दर्ता गराएका छन् ।
संस्थापनइतरबाट साझा उमेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरु असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिएका हुन् ।
त्यसैगरी उपसभापति पदमा पनि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका छन् ।
महामन्त्री पदमा डा मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
सहमहामन्त्री पदमा भने १२ जनाको उम्मेदवारी परेको छ । जसमा किशोर सिंह राठोर, रञ्जित कर्ण, जीवन परियार, वद्री पाण्डे, फरमुल्लाह मन्सुर, मान वहादुर विक, सुरेन्द्र चौधरी, देवराज चालिसे, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी रहेका छन् ।



