काठमाण्डौँ, असार १ (ई-रैवार)
नेपालमा मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ । ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबाट जोगिन आह्वान गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ । महाशाखाका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
महाशाखाले विहान जारी गरेको सूचनामा विभिन्न प्रदेशका ४१ जिल्लाका नदी तथा खोला एवं तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहेको छ । नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको हो ।
बिहीबारसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । ती नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजराति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुदाँ जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।
कहाँ-कहाँ छ जोखिम ?
महाशखाका अनुसार बारा, पर्सा, रौतहट, काठमाडौँ, रसुवा, सिन्धुपाल्चोक, चितवन, नुवाकोट, मकवापुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपरासी, पाल्पा, कपिलवस्तु, सुर्खेत, सल्यान, दार्चुला, अछामसहितका विभिन्न ४१ जिल्लामा बाढी पहिरोको खतरा रहेको छ ।


