धनगढी, जेठ २९ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३ नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ४ जना, धनगढीबाहेक कैलालीका ३ जना र अन्य जिल्लाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा हाल २१ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये ८ जना आइसियूमा, ८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ९ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा कसैको कोरोनाका कारण मृत्यु नभएको अस्पतालले जनाएको छ ।


