काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशनका विषयमा छलफल हुने

काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशनका विषयमा छलफल हुने
Spread the love

काठमाडौं,  जेठ २९ (ई-रैवार)

काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक शनिबार बुढानीलकण्ठमा बोलाएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका हुन्।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।

शनिबार दिउँसो २ बजे सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बस्ने बैठकमा कोरोना संक्रमण कायमै रहे पार्टीको महाधिवेशन भदौमा कसरी गर्न सकिन्छ भन्ने विषयमा नेताहरूको राय लिनेछन्।

पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको कांग्रेसले आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ। त्यसअनुसार कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको बढ्दो संक्रमणका कारण महाधिवेशन गर्न असहज बन्दै गएको छ। तर संस्थापन इतर पक्षले सभापति देउवाले पार्टी महाधिवेशन गर्न नचाहेको भन्दै दबाब बढाएका छन्।

देउवाले पनि विज्ञप्ति जारी गरेर पार्टी महाधिवेशन भदौमै गर्ने जनाएका थिए। महाधिवेशन गर्न दबाब दिने उद्देश्यले केही युवा नेताले शुक्रबार नेता रामचन्द्र पौडेललाई भेटेका छन्। उनीहरूले यसअघि सभापति देउवालाई पनि भेटेका थिए।