काठमाडौं, वैशाख १९ (ई-रैवार)
नेपालमा आज थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जनागरी एकैदिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो।
एकै दिनमा काठमाडौँ उपत्यकामा ३५ सय ९५ संक्रमित फेला परेका हुन् । यसमध्ये काठमाडौँ जिल्लामा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ छन् । पछिल्लो २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।
जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।


