कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले लिए शपथ

Spread the love

सुर्खेत, जेठ २३  (ई-रैवार) 

कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका छन् । आइतबार नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका हुन् । २०७४ को निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सरकारमा गएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुखबाट शनिबार जलस्रोत तथा उर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसीले शपथ लिएका हुन् ।

अब कर्णाली सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ३ जना, कांग्रेसका २ जना र एमालेबाट ‘फ्लोर क्रस’ गरेका ३ जनाको सहभागिता भएको छ । सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णालीमा माओवादी–कांग्रेस सत्ता समीकरण सम्भव भएको हो ।

वैशाख ३ गते मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको विश्वासको प्रस्तावमा कांग्रेसले समर्थन गरेको थियो । एमालेका समेत ४ जनाले ‘फ्लोर क्रस’ गर्दै विश्वासको मत दिएपछि शाही नेतृत्वको सरकार जोगिएको थियो । विश्वासको मत लिएको भोलिपल्ट मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्नेमध्ये ३ जनालाई मन्त्री नियुक्त गरे पनि कांग्रेस सरकारमा गएको थिएन ।

मन्त्रीद्वयलाई बधाई दिँदै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले २०७४ को निर्वाचनपछि कर्णालीबाट कांग्रेसले सत्तारोहण सुरु गरेको बताए । ‘नेपाली कांग्रेस सरकारमा गएपछि पार्टीपंक्तिमात्र होइन, आमजनतामा पनि खुसी छाएको छ,’ उनले भने, ‘पार्टीको नीति, निर्देशनअनुसार जनताको पक्षमा काम गर्नुहोला ।’

कांग्रेस सत्तामा जान ढिलो हुँदा सरकारले प्रदेश सभाको बजेट अधिवेशन आह्वानको सिफारिस गर्नसमेत ढिलाइ गरेको थियो । हाल ३५ सदस्य रहेको प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

कांग्रेस सत्ताधारी भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित हुने करिब निश्चित भएको छ । कांग्रेस संसदीय दलका नेता शाहीले सत्ता साझेदारी गरेपछि कांग्रेसको समेत सहभागितामा नीति तथा कार्यक्रम र बजेट आउने र त्यसले जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।