काठमाडौँ, जेठ २२ (ई-रैवार)
नेकपा एमालेको खनाल-नेपाल पक्षका स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको खनाल-नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकलगत्तै खनाल-नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो।
एमाले नेता युवराज ज्ञवालीले आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जानकारी दिएका छन्। उनका अनुसार बैठक भर्चुअल माध्यमबाट हुने छ ।
दुई दिने भर्चुअल बैठकपछि परिस्थितिको समीक्षा र नयाँ निचोड निकाल्न नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटी बोलाएको हो। “हामीले दुई दिन केन्द्रीय सदस्यहरूको धारणा सुन्यौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग वार्ता, छलफल गरिरहेका कमरेडहरूको कुरा पनि सुन्यौँ । सबैको कुराको विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने भयो,” ज्ञवालीले भने ।
बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।
केन्द्रीय सदस्यहरूको छलफलमा एकता प्रयासलाई जारी राख्ने र नयाँ क्रान्तिकारी चेतसहितको पार्टी निर्माण गरेर जानुपर्ने दुवै कुरा समानान्तर वेगमा उठेको उनको भनाइ थियो । “विचार दुवै कोणबाट आएको छ । हामी एउटा निचोडमा पुग्नुपर्ने हुन्छ,” ज्ञवालीले थपे ।
नेपाल समूहका एमाले नेता ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन्।


