एमाले कार्यदल फेरि सक्रिय, विवाद मिलाउन कार्यदलको बैठक आज पनि बस्दै

Spread the love

काठमाडौँ, असार २२ (ई–रैवार)

नेकपा (एमाले) को कार्यदल फेरि सक्रिय भएको छ । आन्तरिक विवाद समाधानका लागि गठित एमालेको कार्यदल फेरि सक्रिय भएको हो ।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो । तर, वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन ।

अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्यूँताएर पार्टी विवाद हल गर्न छलफल सुरु भएको छ । आजको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने कार्यदलका सदस्यहरुले बताएका छन् । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बन्ने स्थिति सिर्जना भएको हो ।

कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ । पार्टीको विवाद समाधानका लागि पुनः सक्रिय भएको नेकपा एमालेको कार्यदलको बैठक दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य समेत रहेका एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।

बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक हिजो पनि बसेको थियो । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदल फेरि सक्रिय बनेको हो ।

विवाद समाधानको प्रयासका निम्ति हिजो साँझ झण्डै डेढ घण्टा बैठक बसेर आज फेरि बस्नेगरी सकिएको थियो । सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा अहिलेसम्मका घटनाक्रमको सामान्य समीक्षा भएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिएका छन् ।

उनले पार्टीभित्रका समस्याका विषयमा मंगलबारदेखि छलफलले प्रवेश पाउने बताएका थिए । ‘कार्यदलको बैठक नियमित अगाडि बढाउने निर्णय गर्यौं । आज कुनै विषयवस्तुमा प्रवेश गरेनौं । तर, हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर सम्भवतः आज बस्ने बैठकबाट छलफल अगाडि बढाउँछौं,’ नेता रावलले भने ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।