काठमाडौं, वैशाख १२ (ई-रैवार)
समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर उपसम्पादक सहित दुईजना पत्रकार पक्राउ गरेको छ । नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयबाटै नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो ।
समाचार कक्षमा काम गरिरहेका बेला उनलाई पक्राउ गरिएको हो। उज्यालो नेटवर्कका सम्पादक विवेक लोप्चनको मोबाइल पनि प्रहरीले खोसेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पक्राउ परेका व्यक्तिविरुद्ध साइबर अपराध, कीर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा अनुसन्धान हुने बताए ।
विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ। उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच ४ बुँदे सहमति भएकोबारे समाचार प्रकाशन गरेको थियो ।
समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल हो । प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ।


