सर्वोच्च अदालतको ‘फुल कोर्ट’ को बैठक आज बस्दै

Spread the love

काठमाडौँ, जेठ २१ (ई-रैवार)

सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ आज बस्दै छ । कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक आज बोलाइएको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार छलफलमा २० न्यायाधीश सहभागी हुनेछन् । कोभिडबाट संकुचन भएको सेवा प्रवाह व्यवस्थित गर्ने कुरा मुख्य एजेण्डा भएको र विविध विषयमा छलफल गर्ने एजेण्डा तय भएको उनले बताए ।

‘फुल कोर्ट’को बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास वरिष्ठताको आधारमा गठन गर्ने बताएका थिए । संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको पूर्वतयारीका लागि भन्दै संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको छ ।