काठमाडौँ, जेठ २० (ई-रैवार)
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार शुक्रबार प्रधानन्यायाधीश जबराले फुल कोर्ट बोलाएका हुन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि पूर्ण बैठक ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिएका छन् । विविध विषयमा छलफल गर्नका लागि फुल कोर्ट बोलाइएको सूचना अधिकारी ढकालले जानकारी दिए ।
संवैधानिक इजलास गठनमा देखिएको विवादका सम्बन्धमा पनि छलफल हुन सक्ने छ । न्यायाधीशहरुले विविधमा आफ्ना कुरा राख्न सक्नुहुन्छ । प्रधानन्यायाधीशले पनि उठाउन सक्नुहुन्छ । आवश्यक लागेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुन सक्छ’ उनले भने ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजलासमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।
सोही दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गर्न संवैधानिक इजलाससम्बन्धी नियमावली नै परिवर्तन गरेर जाने सहमति जुटेको थियो ।


