जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने

Spread the love

काठमाडौँ, जेठ १८ (ई-रैवार)

जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने भएको छ । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिइने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशभरका ६०–६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई भेरोसेल खोप दिइने बताएका छन् । उनले भने, ‘चीनबाट प्राप्त हुने १० डोज खोपले यो उमेर समूहका नागरिकलाई लगभग पुग्ने विश्वास गरेका छौं ।’

मन्त्रालयका अनुसार ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छ । चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी २ लाख भोलि काठमाडौं आइपुग्ने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलकाअनुसार भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ । भरोसेल पहिलो डोज लगाउने ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोजको सुनिश्चितता हुनेगरी व्यवस्थापन गर्ने डा. पौडेलले बताएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार ४ लाख ३५ हजार ११२ जनाले कोभिसिल्ड र २ लाख ७९ हजार जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाइसकेका छन् ।