जसपाका अध्यक्ष महन्थ ठाकुरसहित चार नेता पार्टीबाट निष्कासित

Spread the love

काठमाडौँ, जेठ १८ (ई-रैवार)

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयले अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

जनता समाजवादी पार्टीका अर्को अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।

यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।नेतालाई निष्कास गर्ने निर्णय गरेको छ। आयोगमा दर्ता गरिएको पत्रमा जेठ १७ गते पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणीको बैठकले निष्कासनको निर्णय गरेको उल्लेख गरिएको छ ।

जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटकपटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको भन्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरुको नाम हटाउन पनि अनुरोध गरिएको छ ।
७ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।

११ जेठमा तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएकोमा ठाकुर पक्षले पनि उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो । फेरि १५ जेठमा २४ घण्टे स्पष्टीकरण पत्र पठाएका यादवले मंगलबार बैठक राखेर निष्कासनको निर्णय गरेका हुन् ।

ठाकुर पक्षले पनि यसको जवाफमा यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी गरेको छ । १५ जेठमै ठाकुरले अर्का अध्यक्ष यादवलई २४ घण्टे स्पष्टीकरण पत्र पठाएका थिए । स्पष्टीकरणको दोहोरी चलिरहेका बेला ठाकुर पक्ष सरकारमा सहभागी हुने निर्णयमा पुगिसकेको छ ।

यसअघि जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो ।

जेठ ८ गते बसेको कार्यकारिणी समितिका बैठकले सरकारमा सहभागी हुने नेता पार्टीबाट स्वतः निष्कासन हुने निर्णय पनि गरेको थियो । ठाकुर पक्ष सरकारमा जाने पक्का भइसकेको छ । प्रधानमन्त्री ओलीसँग भएको वार्ता अनुसार आठ मन्त्री र दुई राज्यमन्त्री दिने सहमति भएको छ । ‘सरकारमा सहभागी हुने १० जना स्वतः कारवाहीमा पर्ने नै भए,’ यादव पक्षका एक नेताले बताए ।