काठमाडौँ, जेठ १७ (ई-रैवार)
भारतमा केही साता यता कोरोना संक्रमण र मृत्यु हुने दरमा कमी हुँदै गएको छ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण र मृत्यु हुने दरमा दैनिक कमी हुँदै गएको हो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५३ हजार ४८५ जनामा संक्रमण भएको छ । यो संख्या आइतबारको तुलनामा २१ हजारले कम हो । भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८० लाख ४६ हजार ९५७ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । भारतमा हालसम्म २ करोड ७८ लाख ९४ हजार ८०० जना भारतमा कोरोना संक्रमित भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ३ हजार १२९ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा ३ लाख २९ हजार १२७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


