सेती प्रादेशिक अस्पतालमा आइतबार २३५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

Spread the love

धनगढी, जेठ १६ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा आइतबार थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७४८ नमूना परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ३७ जना, धनगढीबाहेक कैलालीका १५८ जना र अन्य जिल्लाका ४० जनामा संक्रमण पुष्टि भएको छ ।

सूचना अधिकारी श्रेष्ठले हाल सेती अस्पतालमा ४७ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, ३२ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन् भने थप ८ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २ जनाको उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।