अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपालले शनिबार इराकसंग खेल्ने

Spread the love

काठमाडौँ, जेठ १५ (ई-रैवार)

नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकसंग  खेल्ने भएको छ । इराकको अल्फाहया रंगशालामा हुने खेलमा नेपाल र इराकविच मैत्रीपूर्ण फुटबल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ ।

इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाली टोलीले आफूभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न लागेको हो । फिफा वरीयतामा नेपाल भन्दा इराक माथिल्लो स्तरमा रहेको छ ।

फिफा वरीयतामा इराक नेपाल भन्दा १०३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ ।

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । मंगलबार नेपालबाट प्रस्थान गरेको टोलीले बुधबार इराक पुगेर होटेलमै सामान्य रिकभरी गरेको थियो ।

शनिबार खेल हुने स्थलमा तापक्रम ४७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । विहीबार र शुक्रबार टोलीले पूर्ण प्रशिक्षण गरेको छ । खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्दैछ ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले इराकसँगको मैत्रीपूर्ण खेल नेपालका लागि ठूलो अवसर रहेको बताएका छन् । बिहीबार साँझ प्रशिक्षणका क्रममा इराकी सञ्चार माध्यमसँग कुरा गर्दै नेपाली गोलकिपर किरणले यो मैत्रीपूर्ण खेललाई ठूलो अवसरको रुपमा रहेको बताए ।

‘यो हाम्रो लागि ठूलो अवसर हो । यसका लागि हामी तयार छौं’ उनले भने ।कप्तान किरणले इराकसँगको मैत्रीपूर्ण खेलले विश्वकप छनोटको खेलमा सहयोग गर्ने समेत बताए ।

नेपाली राष्ट्रिय फुटबल टोली २३ सदस्यीय 

गोलरक्षकमा किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल र विकास खवास रहेका छन् ।

यस्तै मिडफिल्डरमा एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान रहेका छन् । र फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा रहेका छन् ।