आज संसद बैठक बस्दै, के छ कार्यसूची ?

आज संसद बैठक बस्दै, के छ कार्यसूची ?
Spread the love

काठमाडौं,चैत्र ३ (ई-रैवार)

आज दिउँसो १ बजे संसद बैठक बस्दै छ ।  प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनःस्थापति संसदको  तेस्रो बैठक आज बस्न लागेको हो ।

गत पुस ५ गते विघटित प्रतिनिधि सभा सर्वोच्चले फागुन ११ गते पुनर्स्थापित गरिदिएपछि दुई पटक बैठक बसिसकेको छ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक गत फागुन २३ गते बसेको थियो । दोस्रो पटक फागुन २६ गते बैठक बसेको थियो ।

अघिल्लो बैठकजस्तै आजको बैठकमा पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि बैठक स्थगित भएका थिए ।

आजको बैठकमा सरकारले अध्यादेश पेश गर्ने विजनेश दिएको छैन । संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने र सभामुख उपस्थित नभएको समय सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

मंगलबार बस्न गइरहेको प्रतिनिधि सभा बैठकका एजेन्डा तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुंगिएको थियो । दलहरुका बीचमा सहमति नजुटेपछि संसद् सचिवालय सिंहदरबारमा सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सरकार संसद्लाई अगाडि बढाउने मानसिकतामा नरहेको आरोप लगाएका थिए । सरकारले संसद्लाई गतिशील बनाउन नचाहेको उनको आरोप थियो ।

“सत्तापक्ष संसद्लाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा देखिएन,” प्रमुख सचेतक खाणले भने । संसद् बैठकका लागि सरकारले अहिलेसम्म कुनै पनि ‘बिजनेस’ नदिएको उनको भनाइ थियो ।