काठमाडौँ, जेठ १४ (ई-रैवार)
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पाँच न्यायाधीशको संवैधानिक इजलास गठन गरे संगै इजलासमा सुनुवाइ सुरु भएको हो ।
संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्ने कानुनविदहरुको लागि समय निर्धारण गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन ।
बहसकर्तालाई १० मिनेटमात्रै समय उपलब्ध गराइने प्रधानन्यायाधीश राणाले जनाएका छन् । रिट निवेदकको तर्फबाट अधिवक्ता सन्तोष भट्टराईले बहस सुरु गरेका छन् । उनले संविधानको धारा ७६ (४) मा प्रवेश नै नगरी (५) मा गएको हुनाले प्रतिनिधिसभा स्वतः पुनःस्थापना हुने तर्क गरेका छन् ।
प्रतिनिधिसभा विघटन बदरको मागसहित सर्वोच्चमा दायर ३० रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासले सर्वोच्च अदालततर्फका १९ वटा रिटलाई समेत संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो । त्यसबाहेक ११ वटा रिट संवैधानिक इजलासतर्फ दर्ता भएका छन् ।


