धनगढी,जेठ १३ (ई-रैवार)
सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कोरोना भाइरसको संक्रमण र निमोनियाका कारण काठमाडौँमा उपचारका क्रममा पूर्व प्रदेश प्रमुख मल्लको निधन भएको हो ।
पूर्व प्रदेश प्रमुख मल्लका भतिजा रुपक मल्लका अनुसार कोरोना र निमोनियालगायतबाट पीडित उनको काठमाडौंको निदान अस्पतालमा उपचारको क्रममा आज निधन भएको हुन ।
‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो ।’ निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।
मल्ल २०३७ देखि २०४६ सालसम्म पूर्वराष्ट्रिय पञ्चायतका सदस्य पनि थिए। कैलालीका मल्ल राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थिए। उनी २०७० सालको संविधान सभा निर्वाचन अगाडि कांग्रेस प्रवेश गर्दै सक्रिय रहेका थिए।
मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा २०७४ माघ ३ मा नियुक्त गरेका थिए । त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा पदमुक्त गरिएको थियो ।


